120
वीरगन्ज, ८ कार्तिक — श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने महान् छठ पर्व आज (शनिबार) देखि विधिवत रूपमा सुरु भएको छ।
सत्य, अहिंसा र सहानुभूतिको सन्देश दिने यस पर्वले मानवलाई सदाचार र श्रद्धातर्फ प्रेरित गर्ने मानिन्छ। कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई ‘नहाए खाए’ को दिन भनिन्छ।
आजका दिन छठका व्रतालुहरूले खोला, नदी, पोखरी र तलाउजस्ता जलाशयमा नुहाएर शुद्ध हुने परम्परा रहेको छ। त्यसपछि उनीहरूले लसुन र प्याज विना तयार गरिएको चोखो शुद्ध भोजन ग्रहण गर्छन्।
पर्वको दोस्रो दिन ‘खरना’, तेस्रो दिन ‘सन्ध्या अरघ’ र चौथो दिन ‘विहान अरघ’ गरी छठ सम्पन्न गरिन्छ। सूर्य देवको आराधनासँग सम्बन्धित यस पर्वमा स्वच्छता, संयम र श्रद्धा प्रमुख मानिन्छ।