काठमाडौं, ८ कार्तिक — आज बिहान माइतीघर मण्डलाबाट ‘जेनजी युनाइटेड परिवर्तन समूह’का केही सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, जेन जी समूहका सदस्यहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने तयारी गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
परिवर्तन समूहले देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी र नीति–निर्णयमा पारदर्शिताको अभाव विरुद्ध आवाज उठाउने उद्देश्यले प्रदर्शनको योजना बनाएको थियो। पक्राउ परेकामध्ये समूहका संयोजकसहित करिब एक दर्जन युवा कार्यकर्ता रहेको र उनीहरूलाई सोधपुछका लागि प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ।
यसबीच, समूहका अन्य सदस्यहरूले सामाजिक सञ्जालमार्फत परिवर्तन समूह को गिरफ्तारीको विरोध जनाउँदै “विचार अभिव्यक्तिको अधिकार खोसिएको छ” भन्ने टिप्पणी गरेका छन्। प्रहरीले भने, सार्वजनिक शान्ति र सुरक्षाको कारणले अनुमति बिना प्रदर्शन गर्न खोजेकाले नियन्त्रणमा लिइएको स्पष्ट पारेको छ।