आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लेटाङमा बेपत्ता १३ वर्षीया अंशु गौतमको शव जंगलमा बीभत्स अवस्थामा फेला

लेटाङमा बेपत्ता १३ वर्षीया अंशु गौतमको शव जंगलमा बीभत्स अवस्थामा फेला

137

बिराटनगर, ७ कार्तिक ।

गत असोज २१ गतेदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव बीभत्स अवस्थामा फेला परेको छ। शुक्रबार दिउँसो बेलबारी–चिसाङ साझेदारी वनभित्र स्थानीयले घाँस काट्ने क्रममा दुर्गन्ध आएपछि खोजी गर्दा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार शव जंगलभित्र सडेको अवस्थामा फेला परेको थियो। बालिकाको टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएको र लगाएको कपडा तथा चप्पल पनि अलग–अलग स्थानमा रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। शव भेटिएको बेला भित्री वस्त्र खोलिएको अवस्थामा रहेको र घटनास्थल अत्यन्तै संवेदनशील रहेको प्रहरी स्रोतले जनाएको छ।

लेटाङकी अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। उनी असोज २१ गते दिउँसो करिब ४:३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवार र प्रहरीले निरन्तर खोजी गरिरहेका बेला शुक्रबार उनको शव फेला परेको हो।

मोरङ जिल्ला प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार घटनास्थलमा पुगेर प्रहरी टोलीले आवश्यक प्रमाण संकलन गरेको छ। “हामीले सबै कोणबाट अनुसन्धान अघि बढाएका छौँ,” एसपी कटवालले भनिन्।

प्रहरीले प्रारम्भिक रूपमा यो घटना बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेको छ। शवको अवस्था र प्रमाणका आधारमा अनुसन्धान त्यही दिशामा केन्द्रित गरिएको प्रहरी स्रोतले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि लगिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीको भनाइ छ।