वीरगञ्ज, ५ कार्तिक — भारत सरकारले नेपालका विभिन्न जिल्लाका विद्यालयहरूलाई सहयोग स्वरूप ८१ वटा स्कुल बसहरू हस्तान्तरण गरेको छ।
कोशी प्रदेशका बाढी प्रभावित क्षेत्रहरूका साथै सातै प्रदेशका दुर्गम जिल्लाहरूका विद्यालयहरूलाई सहायता स्वरूप बस उपलब्ध गराइएको हो। भारतीय दूतावासका अनुसार, यो सहयोग नेपाल–भारतबीचको दीर्घकालीन विकास साझेदारी र आपसी मित्रता सुदृढ गर्न उद्देश्यले गरिएको हो।
बस हस्तान्तरण कार्यक्रममार्फत इलाम, झापा, उदयपुर, संखुवासभा, मुस्ताङ, हुम्ला, दार्चुला, बैतडी, र अछाम लगायतका जिल्लाका विद्यालयहरूले नयाँ स्कुल बस प्राप्त गरेका छन्।
भारतीय राजदूतावासका अनुसार विगत तीन दशकमा भारतले नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई जम्मा ३८१ वटा स्कुल बसहरू सहयोग स्वरूप उपलब्ध गराइसकेको छ।
यो सहयोगबाट विशेषगरी दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रका विद्यार्थीहरूलाई विद्यालय आवत–जावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ।
दूतावासले नेपाल–भारतबीचको मित्रता र सहकार्य अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सहयोग जारी रहने जनाएको छ।