काठमाडौं, ५ कार्तिक — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो विरुद्ध योजनाबद्ध षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाएका छन्।
बुधबार जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो निवास अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्री ओम प्रकाश अर्यालले व्यक्तिगत दुस्मनीका कारण आफूविरुद्ध निरन्तर योजना बनाइरहेको बताएका हुन्।
“गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा नै सरकारको उद्देश्य र गन्तव्य स्पष्ट देखिन्छ,” ओलीले भने, “सरकार मेरो राजनीतिक छविलाई कमजोर पार्ने र एमालेलाई दबाउने योजनामा सक्रिय छ।”
अचानक बनेको सरकारको तमासासँग विचलित नहुने बताउँदै उनले एमालेले देशमा शान्ति, सुव्यवस्था र भ्रष्टाचार नियन्त्रण गरेरै देखाउने स्पष्ट सन्देश दिएका छन्।
त्यस्तै, ओलीले जेनजी आन्दोलनको नाममा केही गलत तत्त्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दाबी गरे। उनका अनुसार आन्दोलनका आडमा सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी र तोडफोड गर्नेहरू आपराधिक समूह हुन्, तर सरकारले उनीहरूलाई कारबाही गर्न नसकेको वा गर्न नचाहेको आरोप पनि उनले लगाए।
ओलीले आफ्नो घरमा आन्दोलनका क्रममा तोडफोड र आगजनी मात्र नभई महत्त्वपूर्ण निजी सामग्री समेत लुटिएको जानकारी दिएका छन्।
उनले यस घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै देशमा स्थिरता र कानूनी शासनको आवश्यकता औंल्याएका छन्।