आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News नेपाल सरकारले नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने तयारी अघि बढाउने

नेपाल सरकारले नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने तयारी अघि बढाउने

136

भक्तपुर, ५ कार्तिक— नेपाल सरकारले अब नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”

उनका अनुसार नेपाल संवत् नेपालको ऐतिहासिक, सांस्कृतिक र पहिचानसँग जोडिएको गौरवमय सम्पदा हो, जसलाई सरकारी औपचारिक दस्तावेज र चलनमा समेट्नु समयको माग हो।

नेपाल संवतका प्रणेता शंखधर साख्वालाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने वि.सं. २०६५ कात्तिक ७ गते देखि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिइएको थियो।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले साख्वाको ऐतिहासिक योगदान स्मरण गर्दै भनिन्, “आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शंखधर साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी समाजलाई मुक्त बनाएका थिए। यो निर्णयले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा दिएको छ।”

नेपाल संवत् ११४६ का अवसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय समुदाय, संस्कृतिविद्, कलाकार र सरकारी अधिकारीहरूको उपस्थितिमा विभिन्न सांस्कृतिक झाँकी, नाचगान र प्रदर्शनी पनि प्रस्तुत गरिएको थियो।