आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News लक्ष्मीपूजामा पनि विनाअवरोध विद्युत् आपूर्ति, मन्त्री घिसिङले प्रेषण केन्द्रबाट अवलोकन

लक्ष्मीपूजामा पनि विनाअवरोध विद्युत् आपूर्ति, मन्त्री घिसिङले प्रेषण केन्द्रबाट अवलोकन

113

काठमाडौँ  ३ कार्तिक — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाको दिन देशभरको विद्युत् माग र आपूर्ति व्यवस्थापनको अवस्था अवलोकन गरेका छन्।

मन्त्री घिसिङ सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर) पुगेर नियन्त्रण कक्षमार्फत देशभरको विद्युत् प्रवाहको स्थिति हेरेका हुन्।

प्राधिकरणका अनुसार यस वर्ष पनि लक्ष्मीपूजाको अवसरमा देशभर निरन्तर र विना अवरोध विद्युत् आपूर्ति गर्न सफल भएको छ। प्राधिकरणले लक्ष्मी पूजाको दिन विद्युत् अवरोध हुन नदिन देशभरका वितरण केन्द्र र विद्युत् गृहका प्रमुखहरू, प्राविधिक कर्मचारीहरूलाई तयारी अवस्थामा राखेको थियो।

२०७३ सालको भदौमा प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङ नेतृत्वको टोलीले विद्युत् आपूर्ति व्यवस्थापनमा ऐतिहासिक सुधार ल्याएको थियो। सोही वर्षको लक्ष्मी पूजाको दिन काठमाडौं उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात भएको थियो, जसले नेपालमा लोडसेडिङ अन्त्यको नयाँ युगको सुरुवात गरेको मानिन्छ।

प्राधिकरणले आगामी दिनहरूमा पनि माग र आपूर्तिको सन्तुलन कायम राख्दै देशभर स्थिर र गुणस्तरीय विद्युत् सेवा पुर्‍याउने प्रतिबद्धता जनाएको छ।