148
वीरगंज, ३ कार्तिक — वीरगंज महानगरपालिका बाईपास सडकस्थित बैष्णवी मन्दिर नजिकै रहेको पुराना बोरा पुनःप्रयोग गर्ने (रिसाइकल) फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।
स्थानीयका अनुसार फ्याक्ट्रीभित्र राखिएका ठूला–ठूला पुराना बोरामा अचानक आगो लागेको बताइन्छ। आगो कसरी लागेको हो भन्ने यकिन कारण भने अहिलेसम्म खुलेको छैन।
आगलागी भएपछि वीरगंज महानगरपालिकाको वारुण यन्त्र र सशस्त्र प्रहरी, नेपाल प्रहरीका टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयासरत छन्। आगोको तापका कारण वरपरको क्षेत्र धुँवाले ढपक्क ढाकिएको छ र स्थानीयहरूलाई घरबाट बाहिर निस्कन कठिनाइ भएको बताइएको छ।
हालसम्म कुनै मानविय क्षतिको विवरण प्राप्त भएको छैन। आर्थिक क्षतिको यकिन विवरण र आगो लाग्ने कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।