वीरगंज, ३ कार्तिक । आज सोमवार, कार्तिक कृष्ण औंसीका दिन देशभर हिन्दू धर्मावलम्बीहरूले शुभ दीपावली अर्थात् लक्ष्मीपूजा अत्यन्तै श्रद्धा, भक्ति र उल्लासका साथ मनाउँदै छन्। धनधान्यकी अधिष्ठात्री देवी माता लक्ष्मीको आराधनाका लागि आजको दिन विशेष मानिन्छ।
यस दिन बिहानैदेखि घरपरिवारमा सरसफाइ, सजावट र दीप प्रज्वलनको तयारी हुने गर्दछ। बेलुकीपख देवी लक्ष्मी, भगवान गणेश र देवी सरस्वतीको मूर्ति वा प्रतीक स्थापना गरी विधिपूर्वक पूजा–अर्चना गरिन्छ। घरमा भएका सम्पूर्ण धन–सम्पत्ति, गरगहना, धन–धान्य र दस्तावेजहरूलाई पूजा गरेर लक्ष्मीको कृपा प्राप्तिको कामना गरिन्छ।
वैदिक परम्पराअनुसार आजको दिन केराका खाँबा (थम्बा) घरको मूल ढोकामा गाड्ने चलन छ। यी खाँबाहरूलाई शुभताको प्रतीक मानिन्छ र वर्षभर घरमा खुशी, समृद्धि र सकारात्मक ऊर्जा प्रवेश गर्ने विश्वास गरिन्छ। हिन्दू संस्कारमा यस्ता खाँबाहरू विवाह, व्रतबन्ध, पुराणलगायतका शुभ अवसरमा पनि अनिवार्य रूपमा राख्ने प्रथा रहिआएको छ।
आजको रातलाई ‘लक्ष्मी रात’ पनि भनिन्छ। विश्वास छ, यस रात स्वच्छ र उज्यालो घरमा लक्ष्मी स्वयं प्रवेश गरी धन, ऐश्वर्य र सुख–शान्ति प्रदान गर्नुहुन्छ। त्यसैले घर–घरमा दीप बाल्ने, फूलमाला सजाउने र दीपावलीको उज्यालोले अन्धकारलाई पराजित गर्ने परम्परा कायम छ।
लक्ष्मीपूजा केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली समाजमा स्वच्छता, श्रम र सकारात्मक सोचको प्रतीकका रूपमा पनि स्थापित छ।
उर्जावान सुखः समृद्ध शुभ दीपावली २०८२ को हार्दिक शुभकामना!
सबै नेपालीको घरमा लक्ष्मीको अनन्त कृपा, सुख, समृद्धि र सौभाग्य स्थायी होस्। उत्सव खबर