आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मृत व्यक्तिको नाममा ७३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्तामा अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

मृत व्यक्तिको नाममा ७३ लाखभन्दा बढी सामाजिक सुरक्षा भत्तामा अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

117

कैलाली, २ असोज — कैलालीको जानकी गाउँपालिका–९ मा मृत्युपश्चात् व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरी ७३ लाख ३७ हजार ६२७ रुपैयाँ अनियमितता गरिएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घटनामा संलग्न ठहर गर्दै वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार वडाध्यक्ष भण्डारीको मिलेमतोमा मृत व्यक्तिहरुको नाममा भत्ता वितरण गरिएको मात्र होइन, एउटै व्यक्तिको नाम दोहोर्याएर पनि सामाजिक सुरक्षा भत्ता वितरण गरी लाखौं रुपैयाँ अपचलन गरिएको छ।

मुद्दामा वडाध्यक्ष भण्डारीसँगै वडासचिव प्रेमबहादुर बुढा, वडासदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट र कार्यालय सहयोगी सोनम कठरियालाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारको अनुसन्धानले देखाएको छ कि सामाजिक सुरक्षा भत्ता वितरण गर्दा/गराउँदा वि.सं. २०७४/०७५ देखि २०७७/०७८ को दोस्रो चौमासिकसम्म सम्बन्धित व्यक्तिलाई भत्ता बुझाई औंठाछापसहित भरपाई तयार पार्ने कार्य गरिएको थियो। तर तीमध्ये धेरै भत्ता मृत व्यक्तिको नाममा वितरण भएको पाइएको छ।

अख्तियारले सार्वजनिक पदको दुरुपयोग गरी सरकारी रकम अपचलन गरेको अभियोगमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत कानूनी कारबाही अघि बढाएको जनाएको छ।