आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News धनतेरस पर्व उत्साहका साथ मनाइँदै, साँझमा दीप प्रज्वलन गरी धनवन्तरि र लक्ष्मीमाताको पूजा आराधना गरिने

धनतेरस पर्व उत्साहका साथ मनाइँदै, साँझमा दीप प्रज्वलन गरी धनवन्तरि र लक्ष्मीमाताको पूजा आराधना गरिने

104

वीरगंज, १ कार्तिक — आज देशभरका हिन्दू समुदायले धनतेरस पर्व उल्लास र भक्तिभावका साथ मनाइरहेका छन्। धनतेरसलाई धन त्रयोदशी पनि भनिन्छ, जसले पाँच दिनीय तिहार (दीपावली) पर्वको सुरुवात जनाउँछ।

धार्मिक विश्वासअनुसार यस दिन समुद्रमन्थनबाट भगवान धनवन्तरि अमृत कलशसहित प्रकट भएका थिए। त्यसैले यो दिनलाई स्वास्थ्य, दीर्घायु र समृद्धिको प्रतीक दिवस मानिन्छ। भगवान धनवन्तरि, धनका देवता कुबेर र लक्ष्मी माताको आराधना गरी शुभ लाभ, समृद्धि र आरोग्यको कामना गर्ने चलन छ।

आज बिहानैदेखि भक्तजनले स्नान–ध्यान गरी घरको सफाइ र सजावट गरेका छन्। साँझपख दीप प्रज्वलन गरी धनवन्तरि र लक्ष्मीको पूजा आराधना गरिन्छ। शुभ साइतमा सुन, चाँदी, भाँडाकुँडा, र नयाँ सामान किन्ने परम्परा रहँदै आएको छ। यो दिन नयाँ वस्तु खरिद गर्दा वर्षभरि धनसम्पत्ति वृद्धि हुने र अशुभ शक्तिहरू टाढा रहने जनविश्वास छ।

आज बिहानैदेखि बजारमा चहलपहल देखिएको छ। सुनचाँदीका पसल, गृहउपकरण, कपडा तथा भाँडाकुँडाका पसलहरूमा ग्राहकको भीड लाग्ने गरेको सर्वसाधारण बताउछन् ।

धनतेरस पर्वसँगै तिहारको सुरुवात भइसकेको छ। यसपछि भोली कुकुर तिहार (यम द्वितीया) मनाइनेछ भने त्यसपछिल्लो दिन लक्ष्मी पूजा (दीपावली) गरी तिहारको मुख्य दिन मनाइनेछ।

धनतेरसलाई स्वास्थ्य, धन र समृद्धिको प्रतीकका रूपमा हिन्दू समुदायले हर्षोल्लासपूर्वक मनाउँदै, घर–घरमा दीप प्रज्वलन गरी उज्यालो र सकारात्मक ऊर्जा आगमन हुने बिश्वास रहेको हुन्छ। धनतेरस केवल धनसम्पत्तिको पूजा होइन, यो शरीरिक र मानसिक स्वास्थ्य, समृद्धि र सकारात्मक जीवनशैलीको पनि प्रतीक हो।