जनकपुरधाम, ३१ असोज- मधेस प्रदेश ।
मधेस प्रदेशका मुख्यमन्त्री माननीय जितेन्द्र सोनलले प्रदेश सुरक्षा निकायका प्रमुखहरू तथा प्रदेश सरकारका वरिष्ठ अधिकारीहरूसँग आज एक महत्वपूर्ण छलफल गर्नुभएको छ। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, प्रदेश सरकारका प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा मुख्यमन्त्री सोनलले प्रदेशमा शान्ति र सुरक्षाको वातावरण कायम गर्न सबै सुरक्षा निकायहरूबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी काम गर्न सुरक्षा निकायहरूलाई आग्रह गर्नुभयो।
मुख्यमन्त्री सोनलले भने, “जनतालाई सेवा प्रदान गर्ने कार्य छिटो, छरितो र पारदर्शी ढङ्गले हुनुपर्छ। प्रदेश सरकार शान्ति, सुव्यवस्था र सुशासनलाई सर्वोच्च प्राथमिकतामा राखेर अगाडि बढ्नेछ।”
उक्त छलफलमा माननीय मन्त्री महेश यादव र माननीय मन्त्री कनिश पटेलको समेत उपस्थिति रहेको थियो। बैठकले प्रदेशको समग्र शान्ति–सुरक्षा सुदृढ पार्ने तथा नागरिकमैत्री प्रशासनिक सेवा प्रवाहमा थप सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।