आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशका सांसद सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

119

जनकपुरधाम, असोज ३० गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह सहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेश संसदीय विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।

आयोगले सांसद सिंहसँगै विभिन्न निर्माण तथा सौन्दर्यकरण उपभोक्ता समितिहरूका पदाधिकारीमाथि समेत मुद्दा चलाएको छ। तीमध्ये धर्मशाला निर्माण उपभोक्ता समिति, कमलामाई मन्दिर र मालतमाईस्थान कम्पाउन्ड वाल निर्माण समिति, माईस्थान मन्दिर सौन्दर्यकरण समिति, कञ्जनियमाई मन्दिर सौन्दर्यकरण समिति, देवी महारानी सौन्दर्यकरण समिति, र लक्ष्मीनीयासम्म माटो ग्राभेल निर्माण समितिका अध्यक्ष तथा कोषाध्यक्षहरू समेत सामेल छन्।

आरोपपत्र अनुसार, ती उपभोक्ता समितिहरूका खातामा जम्मा भएको कुल रकमको २८ प्रतिशत अर्थात करिब ३८ लाख रुपैयाँ सांसद सिंहले अनियमित रूपमा खर्च गरेको ठहर गरिएको छ। उक्त रकम बराबरको बिगो सांसद सिंहसँगै माग गरिएको छ।

आयोगका अनुसार, सांसद सिंहले प्रदेश विकास कोषमार्फत सार्वजनिक योजना र निर्माण कार्यका नाममा रकम दुरुपयोग गरेको प्रारम्भिक प्रमाण भेटिएपछि अनुसन्धान सम्पन्न गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो।