असोज २९, जनकपुरधाम ।
मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।
आजै बिहान सोनलले ६ दलको समर्थनसहित ५७ प्रदेश सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री बन्ने दाबी प्रदेश प्रमुख कार्यालयमा पेश गरेका थिए। त्यसैबेला नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि जनमत पार्टीका १३ सांसदको समर्थन रहेको दाबी गर्दै सरकार गठनको दाबी पेश गरेका थिए। तर जनमत पार्टीले यादवको दाबीलाई खण्डन गर्दै सोनललाई समर्थन गर्ने निर्णय गरेपछि प्रदेश प्रमुखले अन्ततः सोनललाई नै मुख्यमन्त्री नियुक्त गरेकी हुन्। मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा प्रदेश प्रमुख कार्यालयमा दुवै पक्ष साथसाथै पुगेपछि केही समय तनावपूर्ण अवस्था पनि सिर्जना भएको थियो।
यसबीच, जनमत पार्टीभित्र आन्तरिक मतभेद देखिँदै गएको छ। निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री **त्रिभुवन साह ‘दीपक’**ले आजै जनमत पार्टी छोडेर जनस्वाराज पार्टी (जस्वपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोग कार्यालयमा सनाखत गर्न पुगेका सिंहलाई रोक्न जनमत पार्टीका नेता तथा कार्यकर्ताले प्रयास गर्दा सामान्य झडप समेत भएको बताइएको छ।
नयाँ मुख्यमन्त्री सोनलले अब छिट्टै मन्त्रिपरिषद् गठन गरेर विश्वासको मत लिने तयारी गरेको स्रोतले जनाएको छ।
