जनकपुरधाम २८ असोज- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सिंहको राजीनामा आज प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, सिंहले नेपालको संविधानको धारा १६९(१)(क) बमोजिम पदबाट राजीनामा दिएका हुन्। उक्त राजीनामा आजै स्वीकृत भएको जनाइएको छ।
सिंहको राजीनामा स्वीकृतसँगै प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन्। विज्ञप्तिमा भनिएको छ, “दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्नेछन्।”
मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने अन्तिम म्याद असोज २९ गते, बुधबार दिउँसो ४ बजेसम्म तोकिएको छ।
यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन हुने सम्भावना बढेको राजनीतिक वृत्तले जनाएको छ।
राजनीतिक स्रोतका अनुसार कांग्रेस, माओवादी केन्द्र र अन्य दलबीच नयाँ सत्ता समीकरणबारे छलफल जारी रहेको छ। यसले मधेश प्रदेशमा नयाँ सत्ता समीकरणमार्फत राजनीतिक स्थायित्वको अपेक्षा गरिएको छ।
