आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News देउवाको घोषणा : १५औं महाधिवेशनमा सभापति नबन्ने, नेतृत्व हस्तान्तरणको तयारी

देउवाको घोषणा : १५औं महाधिवेशनमा सभापति नबन्ने, नेतृत्व हस्तान्तरणको तयारी

123

काठमाडौँ, २८ असोज — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

जेन–जी आन्दोलनका क्रममा भएको आक्रमणपछि पहिलोपटक पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका देउवाले अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने संकेत गरेका हुन्।

बैठकमा उनले भने, “आगामी १५औं महाधिवेशनबाट म बाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ, त्यसमा द्विविधा छैन।” उनले थपे, “घरमा सधैं एउटै जना मुली रहँदैन, पार्टीमा पनि सधैं एउटै जना सभापति रहिरहँदैन। मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु भनेको छु।”

देउवाले जेन–जी आन्दोलनका क्रममा आफू र आफ्ना परिवारमाथि भएको आक्रमणको कडा भर्त्सना गर्दै त्यसलाई ज्यानै लिने मनसायले गरिएको सांघातिक हमलाको रूपमा व्याख्या गरे। उनले सो घटनालाई देश, लोकतान्त्रिक पद्धति र पार्टीमाथिको सुनियोजित आक्रमण भएको ठहर गरे।

स्वास्थ्य अवस्थाका कारण देउवाले तत्कालका लागि पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा तोकेको जानकारी पनि दिए।

उनले पार्टीभित्र एकता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्दै आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्‍याए।