वीरगंज, २७ असोज —नेकपा (माओवादी केन्द्र) का नेता शिवकुमार साह तेली पुनः बैंकिङ कसुर (चेक अनादर) मुद्दामा पक्राउ परेका छन्। पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार तेलीलाई प्रहरी टोलीले वीरगंज–श्रीपुर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार तेलीमाथि ओम प्रकाश साह तेलीसँग ३० लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। यसअघि अदालतले उनलाई ६ दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो। हाल पुनः दोस्रो पटक म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पहिले पनि चेक बाउन्स प्रकरणमा पक्राउ
यसअघि पनि पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीमाथि क्रान्ति गुप्ता लगायतका दुई व्यक्तिले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो। पीडितहरूका अनुसार, तेलीले बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै १० लाख र ६ लाख रुपैयाँका दुईवटा चेक दिएका थिए। तर ती चेक बैंकमा बाउन्स भएपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेका थिए। सोही उजुरीका आधारमा प्रहरीले तेलीलाई पहिलो पटक पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
मुद्दा सरकारी वकिलको कार्यालयमा पठाउने तयारी
डीएसपी लम्सालका अनुसार बैंकिङ कसुर (चेक अनादर) सम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले आवश्यक प्रमाण संकलन तथा पीडित पक्षका बयान लिएर मुद्दा सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरिरहेको जानकारी दिएको छ।
प्रहरीका अनुसार, चेक अनादरसम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि तेलीमाथि दायर मुद्दा अदालतमा पेश गरिनेछ।