आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

128

काठमाडौँ, २७ असोज — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सात जनाविरुद्ध ८१ लाख ५३ हजार ६५० रुपियाँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार घर्तीसँगै नगरपालिकाका ईन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिश साह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा र ठेकेदार संस्था थापा/सविन/सुदर्शन जेभी (खलंगा–४, जाजरकोट) का आधिकारिक प्रतिनिधि तथा थापा निर्माण सेवाका प्रोप्राइटर दिपबहादुर खत्री विरुद्ध समेत विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरिएको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ‘कारागार–रानागाउँ–नेटीबजार सडक’ निर्माणका लागि दुई करोड ८० हजार रुपियाँ तथा नगर कार्यपालिकाले भ्याट र कन्टिजेन्सी सहित दुई करोड ८० लाख ४२ हजार ७४३ रुपियाँ बजेट विनियोजन गरेको थियो।

उक्त आयोजनाको बोलपत्र आह्वान २०८० मङ्सिर १० गते ई–जीपी पोर्टलमार्फत गरिएको भए पनि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित नगरिएको आयोगले जनाएको छ। यसरी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ५१ (१) विपरीत बोलपत्र प्रक्रिया सञ्चालन गरी गैरकानुनी लाभ लिन खोजिएको बताइएको छ।

आयोगको भनाइअनुसार, बोलपत्रदाताले निर्माणस्थलको भ्रमण गर्न सक्ने प्रावधान हुँदाहुँदै पनि सो भ्रमणलाई अनिवार्य शर्तको रूपमा राखेर प्रतिस्पर्धा सीमित बनाउने र नेपाल सरकार तथा सार्वजनिक संस्थालाई हानि पुर्‍याउने उद्देश्यले बदनियतपूर्वक काम गरिएको देखिएको छ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।