वीरगञ्ज, २७ असोज — नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल, पर्साले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरेको छ।
संघका अनुसार, जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पदा, निजी सम्पत्ति तथा विभिन्न राजनीतिक दलका कार्यालयहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटमा शाह र गुरुङको समेत संलग्नता रहेको भन्दै उनीहरूविरुद्ध कानूनी कारबाही माग गरिएको हो।
राष्ट्रिय युवा संघ पर्साका अध्यक्ष सुवास साहले भदौ २४ गतेको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न प्रहरी कार्यालय र राष्ट्रिय सम्पत्तिहरूमा भएको क्षतिलाई योजनाबद्ध रूपमा गरिएको गतिविधि भन्दै त्यसमा बालेन शाह र सुदन गुरुङको प्रत्यक्ष भूमिका रहेको आरोप लगाए।
संघले सोमबार मधेस प्रदेशका आठवटै जिल्लामा एकैपटक उजुरी दिने अभियान अन्तर्गत पर्सामा पनि उजुरी दिएको जनाएको छ। उजुरी दर्ता गर्नुअघि संघले वीरगञ्जमा मोटरसाइकल र्याली आयोजना गरी शक्ति प्रदर्शन गरेको थियो।