वीरगञ्ज, २७ असोज—राजस्व अनुसन्धान विभागअन्तर्गत बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले सोमबार बिहान वीरगञ्ज महानगरपालिका–९, गीता मन्दिर रोडस्थित सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरमा छापा मारेको छ।
वीरगञ्ज–८ मा अवस्थित अभिषेक ज्वेलर्सका सञ्चालक सर्राफको घरमा राजस्व चुहावटसम्बन्धी सूचनाका आधारमा अनुसन्धान टोलीले खानतलासी गरेको हो।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार, सर्राफले राजस्व चुहावट गरेको भन्ने गोप्य सूचनाको आधारमा उनको घर, कारोबार स्थल र गोदाममा एकैसाथ खोजतलासी गरिएको हो।
शर्माका अनुसार, अनुसन्धान टोलीले व्यवसायसँग सम्बन्धित कागजात, खाता, विद्युतीय उपकरण र अन्य प्रमाणहरू नियन्त्रणमा लिएको छ। अनुसन्धानको प्रारम्भिक चरणमा रहेका कारण विस्तृत विवरण सार्वजनिक गर्न अझै बाँकी रहेको कार्यालयले जनाएको छ।