काठमाडौं, २६ असोज- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले यूएईमाथि रोमाञ्चक १ रनको जित हासिल गर्दै विश्वकपमा प्रवेशको सम्भावना बलियो बनाएको छ।
काठमाडौंमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनायो।
ओपनर आसिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ४७ बलमा ५१ रन बनाए।
त्यस्तै कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन र गुल्शन झाले अन्त्यतिर ५ बलमा १४ रनको योगदान दिए।
यूएईका बलरहरू जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए।
१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो।
यूएईका अलिशान सराफूले ५८ रन र ध्रुव पराशरले ३८ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।
एक समय ८२–१ को बलियो अवस्थामा रहेको यूएईमाथि नेपालका बलरहरूले शानदार कमब्याक गरे।
दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई जित दिलाए। उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए।
सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले पनि १–१ विकेट हात पारे।
अन्तिम ओभरमा यूएईलाई १० रन आवश्यक थियो। ध्रुव पराशरले एक छक्का प्रहार गरे पनि त्यसपछि दीपेन्द्रको बलमा क्याच आउट भए।
त्यसपछि रनआउट र शर्ट रनको कारण यूएईले बाँकी बलमा आवश्यक रन जोड्न सकेन र नेपाल १ रनले विजयी भयो।
यो जितसँगै नेपालले सुपर सिक्स चरणमा बलियो स्थिति बनाएको छ र विश्वकप टी–२० मा छनोट हुने सम्भावना अझ प्रबल भएको छ।