काठमाडौं, २५ असोज — अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौँको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जयकिसान नमूना माध्यमिक विद्यालय, धरहरी का प्रधानाध्यापक सहित दुई जनालाई साढे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जयकिसान नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक संजय प्रसाद साह र उनका सहयोगी वीरगंजका अरविन्द प्रकाश साह रहेका छन्।
अख्तियारका अनुसार, शनिबार (आज) हुने माध्यमिक विद्यालय द्वितीय तहको रसायन विज्ञान विषयको परीक्षामा एक शिक्षकलाई पास गराइदिने उद्देश्यले उनीहरूले साढे चार लाख रुपैयाँ घुस मागेका थिए।
सोही घुस रकम लिने क्रममा हिजो अरविन्द प्रकाश साहलाई वीरगंजको राधेमाई स्वीट्स एण्ड भोजनालयबाट र प्रधानाध्यापक संजय प्रसाद साहलाई रौतहटबाट पक्राउ गरिएको आयोगले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, मावि द्वितीय तहको विज्ञापन खुलेपछि वीरगंजका एक शिक्षकले आवेदन भरेका थिए। त्यस क्रममा प्रधानाध्यापक संजय प्रसाद साहले सो शिक्षकलाई परीक्षा पास गराइदिने नाममा घुस माग्दै आफ्ना सहयोगी अरविन्द प्रकाश साहमार्फत रकम बुझ्न लगाएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनामाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।