काठमाडौँ, २३ असोज – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित महाधिवेशनको प्रस्ताव अघि सारेका छन्। ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा उनले उक्त प्रस्ताव राखेको पूर्वमहामन्त्री शशांक कोइरालाले जानकारी दिएका हुन्।
कोइरालाका अनुसार बैठकमा महामन्त्री थापाले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाउन र नेतृत्वको वैधानिकता कायम राख्न नियमित महाधिवेशन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। केही समयदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने आवाज उठाउँदै आएका छन्, किनकि कांग्रेसको १४औं महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको र चार वर्षे कार्यकाल यही मंसिरमा समाप्त हुँदैछ।
बैठकमा असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे पनि छलफल भइरहेको बताइएको छ। आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने अनुपस्थित रहे। आगामी केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले १५औं महाधिवेशनको कार्यतालिका औपचारिक रूपमा प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ।