122
काठमाण्डौ २० असोज। यस वर्षको मनसुन नेपालका पश्चिमी भू–भागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) मनसुन बहिर्गमनसम्बन्धी बुलेटिन जारी गर्दै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागका केही स्थानहरूबाट मनसुन बाहिरिएको जनाएको हो।
महाशाखाका अनुसार हाल मनसुनी वायु क्रमशः कमजोर हुँदै गएको छ। यसका कारण देशका बाँकी भू–भागहरूबाट पनि केही दिनभित्र मनसुन पूर्णरूपमा बाहिरिने सम्भावना रहेको बताइएको छ।
महाशाखाले मनसुन बहिर्गमन प्रक्रियालाई नियमित रूपमा अनुगमन भइरहेको उल्लेख गर्दै देशभर वर्षा क्रमशः घट्दै जाने अनुमान गरेको छ।