आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगंज सुक्खा बन्दरगाहमा कामदारको मृत्यु

वीरगंज सुक्खा बन्दरगाहमा कामदारको मृत्यु

123

वीरगंज, २० असोज – वीरगंज–२५ श्रीसियास्थित वीरगंज भन्सार मातहतको श्रीसिया सुक्खा बन्दरगाह महाशाखामा गएराति काम गर्ने क्रममा एक जना कामदारको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–७ फूलकौल निवासी ५५ वर्षीय शम्भु साह तेली रहेका छन्। उनी पटेल लेबर सप्लायर्स ठेकेदार कम्पनी अन्तर्गत कार्यरत थिए।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ः३० बजे बा.०३–००१ ख २६९८ नम्बरको ट्रकमा मल लोड गर्ने क्रममा उनी अचानक बेहोस भएका थिए। तत्कालै उनलाई उपचारका लागि नारायणी अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी ईश्वर लम्सालले जानकारी दिए। प्रारम्भिक अनुसन्धानले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको प्रहरीले जनाएको छ।

घटनापछि मृतकका पक्षमा कामदारहरूले क्षतिपूर्ति माग गर्दै सोमवार बिहान केही घण्टा बन्दरगाहको गेट अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका थिए।

ड्राइपोर्ट सञ्चालन गर्ने प्रिन्स्टिन भ्यालीका अधिकारीका अनुसार वार्तापछि ठेकेदार कम्पनीका सञ्चालक करण चौधरी र सुरेश पटेलले मृतकका परिवारजनलाई एक साताभित्र नियमअनुसार क्षतिपूर्ति उपलब्ध गराउने लिखित आश्वासन दिएका छन्।

वार्तामा पर्सा क्षेत्र नं. ३ का निवर्तमान सांसद राजकुमार गुप्ता, बहुदरमाई नगरपालिका–७ का पूर्ववडाध्यक्ष बाबुलाल यादव, वडा नं. ८ का वडाध्यक्ष पुनीलाल साह तेली लगायतको पहल थियो। क्षतिपूर्तिको आश्वासनपछि परिवारजनले शव बुझेर दाहसंस्कार गरेका छन्।