काठमाण्डौ, १९ असोज – हालको मौसमी प्रणाली कमजोर बन्दै गएपछि देशभर अब ठूलो पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका मौसमविद् मीनकुमार अर्यालका अनुसार पहिले गरिएको पूर्वानुमान अनुसार आज र भोलिसम्म ठूलो पानी पर्ने सम्भावना देखिए पनि अहिले प्रणाली क्रमशः कमजोर हुँदै गएको छ। उनका अनुसार ठूलो पानी पर्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहे पनि दिउँसोपछि त्यस क्षेत्रको प्रभाव समेत क्रमशः कम हुँदै जानेछ।
“हाल कोशी प्रदेशमा सक्रिय प्रणालीको प्रभाव घट्दै गएको छ। त्यसैले अब देशभर ठूलो पानी पर्ने सम्भावना छैन,” मौसमविद् अर्यालले बताउनुभयो। “तर हल्कादेखि मध्यम वर्षा हुने अवस्था भने कायम नै छ।”
विभागका अनुसार बितेका २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ। तर अहिले प्रणाली कमजोर बनेकाले अब देशभर सामान्यदेखि मध्यम वर्षा मात्र हुने अनुमान गरिएको छ।
मौसमविद्हरूले नागरिकलाई अनावश्यक हल्लामा नपरी सचेत रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेका छन्।