वीरगंज, १८ असोज – देशभर मनसुनी वायु थप सक्रिय बनेसँगै धेरैजसो स्थानमा अविरल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी काठमाण्डौ उपत्यकासहित बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा लगातार पानी पर्न थालेको छ ।
महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनअनुसार आगामी २४ घण्टासम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै ठाउँमा, साथै लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा आरीघोप्टे वर्षाको सम्भावना रहेको छ । अरब सागर र बंगालको खाडीबाट आएको मनसुनी वायु थप सक्रिय बनेसँगै वर्षा अझै तीव्र हुने अनुमान गरिएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले आज र भोलि आरीघोप्टे वर्षा भई जोखिम बढ्ने सम्भावना रहेको जनाउँदै सोमबारदेखि भने मौसम क्रमशः सुधार हुने जानकारी दिनुभएको छ ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै बाढी–पहिरोको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । विशेषगरी मधेश प्रदेशको तराई क्षेत्र, नारायणी, बागमती, कोशी र कर्णाली नदी आसपासका भू–भाग, काठमाडौं उपत्यका तथा पूर्वी तराईमा उच्च जोखिम रहेको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लामा सतर्क रहन विशेष अनुरोध गरेको छ ।