जनकपुरधाम, १८ असोज – धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठामा निषेधाज्ञा जारी गरेको छ। दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच भएको झडपपछि प्रशासनले शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा लगाएको हो।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार रुपैठाको पूर्व लोहना जाने बाटोदेखि पश्चिम बसहिया जाने बाटो, उत्तर बाबा पेट्रोल पम्प (सिक्सलेन) हुँदै दक्षिण गंगुली पुलसम्म कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक वा सामूहिक कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक सुरक्षामा खतरा उत्पन्न हुनसक्ने अवस्था भएकाले उक्त क्षेत्रमा सभा–जुलुस, प्रदर्शन, नारा जुलुस तथा भीडभाड गर्न नपाइने व्यवस्था गरिएको छ।”
यसअघि गत महिनामात्र गणेश पूजापछि मूर्ति विसर्जनका क्रममा पनि हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो। दुर्गा विसर्जनमा पुनः अवरोध भएपछि शुक्रबार साँझ पुनः झडप भई अवस्था तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले शान्ति–सुरक्षाका लागि रुपैठा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।