वीरगञ्ज, १७ असोज – पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।
वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ झलमहिया–भिस्वा जोड्ने सडकखण्डमा रहेको पुलमुनि भारतीय नम्बर प्लेटको हौण्डा साइन मोटरसाइकलसहित झलमहिया गाउँकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन्।
वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसहित पुलमुनिको पानीमा साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। मृत्यको यकिन कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
“घटनास्थल र शवको अवस्था हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ,” जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। तर उनले घटनाको यकिन कारण खुल्न बाँकी रहेको बताए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखिरियाको टोली पुगेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।