वीरगंज १६ असोज । नेपालीहरूको महान चाड बडादशैं आज आफन्तजनका हातबाट टीका–जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदै छ ।
घटस्थापनाको दिन स्थापना गरिएको घट (कलश) बाट वैदिक विधिपूर्वक दुर्गा विसर्जन र अभिषेक गरी देवी दुर्गाको प्रसादस्वरूप टीका–जमरा थाप्ने परम्परा रहिआएको छ । दशैं आफैंमा शुभ दिन भएकाले टीका लगाउन विशेष साइत हेर्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
तर, राज्य सञ्चालन गर्नेहरूका लागि भने बिहान ११ बजेर ५३ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको समितिले जनाएको छ । समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईका अनुसार सर्वसाधारणले भने बिहानदेखि दिनभर र अपराह्नसम्म जुनसुकै समयमा टीका थाप्न सक्नेछन् ।
“दशैंका दिन साइत कुरी राख्नु पर्दैन । तर राजकाज चलाउनेहरूले उत्तम साइतमै टीका लगाउँदा राम्रो हुने शास्त्रीय मान्यता छ,” भट्टराईले भने ।
उनका अनुसार दशैंको दिन बिहान घामको झुल्कोमा दुर्गा विसर्जन गरी कलशको जलले अभिषेक गरेपछि टीका लगाउन सकिन्छ । यद्यपि, यसवर्ष दुर्गा विसर्जनको साइत बिहान ९ बजेर २३ मिनेट तोकिएको छ । तर विशेष कामका कारण घरबाट चाँडै निस्किनुपर्ने भएकाले झुल्के घाममै दुर्गा विसर्जन गरी टीका थाप्न सकिने व्यवस्था छ ।
टीका लगाउनुअघि दुर्गा विसर्जन अनिवार्य हुने समितिको भनाइ छ । विसर्जनपछि कलशको जल घरका विभिन्न स्थानमा छर्केर शान्ति, प्रगति र उन्नति कामना गर्ने चलन रहेको बताइन्छ । आज देशभरका नेपालीहरूले परिवार, नातागोता र आफन्तसँग टीका–जमरा ग्रहण गर्दै बडादशैंको मुख्य दिन मनाउँदै छन् ।
