वीरगञ्ज,१४ असोज — बडादसैंको सप्तमी र महाअष्टमीको अवसरमा मधेशका विभिन्न शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ। विशेषगरी महिलाहरू देवी दुर्गा र नवदुर्गा भवानीप्रति श्रद्धा प्रकट गर्दै पति सन्तानको दीर्घायु, परिवारको सुख–समृद्धि र रक्षा कामना सहित खोइछ भर्ने परम्परा निर्वाह गरिरहेका छन्।
वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज मध्यरातिदेखि नै हजारौँ महिलाहरू लामबद्ध भई श्रद्धापूर्वक खोइछ भरिरहेका छन्। बिहानपख महिलाको भीड थपिँदै लामो कतार देखिएको छ।
परम्पराअनुसार महिलाहरूले चुन्दरी ओच्छ्याएर त्यसमा पान, सुपारी, सिन्दुर, चुरा, फलफूललगायत सामग्री राखी पूजाआजा गर्छन्। यी सामग्रीहरू चुन्दरीमै बाँधेर देवी माताको खुट्टामा चढाउने विधिलाई ‘खोइछ भराइ’ भनिन्छ।
यसैगरी सप्तमी र अष्टमीका दिन भक्तजनहरूले शक्तिपीठमा विशेष पूजा गर्दै देवीलाई लड्डु चढाउने परम्परा पनि निरन्तर रहिआएको छ। गहवामाई मन्दिरसहित मधेशका अन्य शक्तिपीठहरूमा भक्तजनको घुइँचो बढेसँगै आज धार्मिक वातावरण उल्लासपूर्ण बनेको छ।