आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News महाअष्टमीको अवसरमा गहवामाई मन्दिरमा भक्तजनको भीड, वीरगंजमा रमाइलो मेला

महाअष्टमीको अवसरमा गहवामाई मन्दिरमा भक्तजनको भीड, वीरगंजमा रमाइलो मेला

200

वीरगंज, १४ असोज । बिजया दशमीको आठौँ दिन पर्ने महाअष्टमी आज देशभर धुमधामका साथ मनाइँदैछ। दुर्गामाताको विशेष पूजा–अर्चना गर्ने यस दिनलाई भक्तजनले आशीर्वाद लिने शुभ अवसरको रूपमा लिन्छन्।

वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज बिहानैदेखि श्रद्धालुको ठूलो भीड लागेको छ। दुर्गामाताको दर्शन गर्न, पूजा गर्न र परम्पराअनुसार बलि चढाउन हजारौँ भक्तजन लामबद्ध भएका छन्। कतिपय श्रद्धालु बिहान सबेरै नै पूजा सामग्रीसहित परिवारसहित उपस्थित भएका थिए।

मन्दिर परिसरमा बलि चढाउने परम्परा अझै कायम रहेको छ। भक्तजनले भैसी, बाख्रा, हाँस, परेवा लगायतका जनावर र टिका–अक्षता चढाएर माता दुर्गाको आराधना गरिरहेका छन्। यसै अवसरमा भाकल पूरा गर्न दान दिने र विशेष पूजा गर्ने प्रथासमेत रहिआएको छ।

घटस्थपना, महाअष्टमीदेखि बिजया दशमीसम्म वीरगंज अनि आसपासको क्षेत्रमा ठूलो मेला लाग्ने परम्परा छ। गहवामाई मन्दिर परिसर तथा वरिपरिको क्षेत्र आजदेखि नै रंगीन देखिएको छ। मेलामा धार्मिक कार्यक्रमसँगै स्थानीय व्यवसायीहरूले विभिन्न सामग्री बिक्री गर्ने मेला पनि सञ्चालन गरेका छन्।

श्रद्धालुहरूको भीड बढ्ने क्रमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी तैनाथ गरिएको छ भने आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्यकर्मी पनि परिचालन गरिएको छ। स्थानीयवासीहरूले महाअष्टमीलाई धार्मिक मात्र नभई सांस्कृतिक उत्सवको रूपमा पनि मनाउने गरेको बताउँछन्।