आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News विद्युतीय कारोबार ऐनअन्तर्गत एमाले नेता महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउने सरकारी वकिलको निर्देशन

विद्युतीय कारोबार ऐनअन्तर्गत एमाले नेता महेश बस्नेतमाथि अनुसन्धान अघि बढाउने सरकारी वकिलको निर्देशन

121

काठमाडौं, १३ असोज:  नेकपा एमालेका नेता महेश बस्नेतमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीलाई पत्राचार गरेको छ।

सोमबार सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको पत्रमा ‘प्रतिवादी बस्नेतलाई कागज गराई खुलाउन लगाउने’ उल्लेख गरिएको जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

सरकारी वकिलको कार्यालयले शोभा पाठक (जानुका पाठक) द्वारा दर्ता गरिएको जाहेरीको आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो।

यसअघि साइबर ब्युरोले बस्नेतमाथि परेको जाहेरीमा आवश्यक कागजातहरू अध्ययन गर्दा थप अनुसन्धान निरर्थक देखिएको भन्दै गत भदौ ३१ गते उक्त जाहेरी तामेलीमा राख्न पाउँ भनी सरकारी वकिलको कार्यालयमा पत्र पठाएको थियो।

बस्नेतले आफ्नो फेसबुक वालमार्फत नेपालको राजनीतिमा एउटा भालु जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ भन्ने अमूर्त टिप्पणी गरेका थिए। उक्त ‘भालु’ शब्दलाई अमर्यादित गाली बेइज्जतीको रूपमा विद्युतीय साधन प्रयोग गरी सार्वजनिक गरिएको भन्दै सो शब्द कसलाई र कुन प्रयोजनका लागि प्रयोग गरिएको हो भन्नेबारे प्रतिवादीबाट खुलाउन लगाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ।