काठमाडौं, ११ असोज – सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरिए पनि वर्षौंदेखि काम नगरी अलपत्र पारेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ।
सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका विभिन्न सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गमा रहेका ठेक्का रुग्ण अवस्थामा पुगेकाले तोड्न लागिएको हो।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका तथ्यांकअनुसार दमकअन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी राजमार्गका १६ र मध्यपहाडी लोकमार्गका १७ ठेक्का रुग्ण छन्।
ठेक्काप्रति उदासीनता देखाएर आयोजनालाई अलपत्र पार्ने तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि पनि छानबिन गर्न समिति गठन गर्ने तयारी भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय प्रमुख र आयोजना प्रमुखहरूसँगको छलफलमा “ठेक्का लिएर काम नगर्ने प्रवृत्तिको अन्त्यका लागि रुग्ण ठेक्का तोड्नुको विकल्प छैन” भन्ने स्पष्ट गरेका छन्।