आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News “हा–हुँबाट बनेको सरकारलाई भने देश छाडेर हामी विदेश भाग्दैनौं”- ओली

“हा–हुँबाट बनेको सरकारलाई भने देश छाडेर हामी विदेश भाग्दैनौं”- ओली

126

काठमाडौं, ११ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई “हा–हुँबाट बनेको” भन्दै त्यसलाई छाडेर आफूहरू विदेश नभाग्ने स्पष्ट पारेका छन्। नेताहरूको पासपोर्ट रोक्का वा रद्द गर्ने चर्चा भइरहेका बेला ओलीले यस्तो टिप्पणी गरेका हुन्।

शनिबार राजधानीमा आयोजित राष्ट्रिय युवा संघ नेपालको शुभकामना आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ, यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौं ? हामी यो देश बनाउनुपर्नेछ। फेरि पनि यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। शान्ति सुव्यवस्था ल्याउँछौँ। हामी कुनै षड्यन्त्र गर्दैनौं, पारदर्शी ढङ्गबाट अगाडि बढ्छौँ।”

बिहीबारको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेताहरूको पासपोर्ट रोक्का गर्ने विषयमा संयन्त्रहरूले अनुसन्धान गरिरहेको बताएका थिए। सोही विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालले पनि अनुसन्धान गर्ने निकायले त्यस्तो कदम चाल्न सक्ने टिप्पणी गरेका थिए।

सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले भने, “अहिलेको सरकार जनअभिमतबाट बनेको होइन, तोडफोड र आगजनीबाट बनेको हो।” उनले आफू सरकारमा हुँदा गरेका निर्णय र निर्देशन सार्वजनिक गर्न चुनौती दिँदै भ्रष्टाचारको आरोप प्रमाणसहित सार्वजनिक गर्न आग्रह गरे।

आन्दोलनका नाममा निजी सम्पत्ति र उद्योगमा भएको तोडफोडप्रति चिन्ता व्यक्त गर्दै उनले भने, “हरेक घरमा जेन्जी हुनुहुन्छ तर केही जेनजीलाई गलत प्रयोग गरियो, जुन दुर्भाग्यपूर्ण हो।”