आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News भाटभटेनी संचालक मीनबहादुर गुरुङले आवश्यक परे आफ्नो आधा सम्पत्ति राष्ट्रलाई दिन तयार रहेको बताए

भाटभटेनी संचालक मीनबहादुर गुरुङले आवश्यक परे आफ्नो आधा सम्पत्ति राष्ट्रलाई दिन तयार रहेको बताए

99

काठमाडौं, ६ असोज — भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले आवश्यक परे आफ्नो आधा सम्पत्ति राष्ट्रलाई दिन तयार रहेको बताएका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा उनले यस्तो प्रस्ताव गरेका हुन्।

गुरुङले भने, “मैले त पहिलेदेखि नै यो भन्दै आएको थिएँ। राज्यलाई आवश्यक परेको बेला म आधा सम्पत्ति दिन तयार छु। आज प्रधानमन्त्रीसँगको भेटमा पनि मैले यही भनेको हुँ।”

तर, उनले भदौ २४ गतेको तोडफोड तथा आगजनीका कारण ठूलो क्षति भएकाले व्यवसाय पुनःसञ्चालनका लागि तत्काल राहत र सुरक्षा आवश्यक भएको बताएका छन्। सो घटनामा भाटभटेनीको मुख्य कार्यालयसहित २८ स्टोर मध्ये १२ वटामा आगजनी भई पूर्ण क्षति पुगेको, नौ वटामा तोडफोड भएको र सातवटा भने सुरक्षित रहेको उनले जानकारी दिएका छन्।

हालसम्म तोडफोड भएका सुपरस्टोर मध्ये केही पुनःसञ्चालनमा ल्याइएका छन् र अहिले १६ वटा सुपरस्टोर सञ्चालनमा रहेका छन्। उनले बीमा दाबी प्रक्रियालाई छिटो–छरितो बनाउन तथा सुरुमै कम्तीमा ५० प्रतिशत भुक्तानी उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

भाटभटेनी समूहले करिब १० हजार व्यक्तिलाई रोजगारी दिएको छ। क्षति भए पनि कुनै पनि कर्मचारीलाई ननिकाल्ने र सेवासुविधा कटौती नगर्ने प्रतिबद्धता गुरुङले जनाएका छन्। भाटभटेनी सुपरस्टोरले वार्षिक २७ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्दै आएको छ।