वीरगञ्ज, ५ असोज — दशैंको नवरात्राको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा वीरगञ्जमा पहिलोपटक ‘चुनरी यात्रा’ निकालिने भएको छ।
विश्व हिन्दु परिषद् नेपालले देवी गहवामाईलाई अर्पण गर्न १५१ मिटर लामो चुनरीसहितको भव्य यात्रा सोमबार आयोजना गर्न लागेको हो। आइतबार आयोजित पत्रकार सम्मेलनमा परिषद्को वीरगञ्ज महानगर समितिका सचिव दिपेन्द्र कुमार सर्राफले यात्रा अपराह्न ३ बजे गहवामाई मन्दिरबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः माईस्थानस्थित गहवामाई मन्दिरमै समापन हुने जानकारी दिए।
उनका अनुसार करिब १,५०० भक्तजनले हातमा चुनरी बोकेर यात्रामा सहभागी हुनेछन्। नगर परिक्रमा पछि विशेष पूजा–आराधनासहित कार्यक्रम सम्पन्न गरिने छ।
सचिव सर्राफले देश र समाजको हित, शान्ति र समृद्धिको कामनाका साथ धार्मिक कार्यक्रम आयोजना गरिएको बताए। उनले कुनै पनि प्रकारको आर्थिक सहयोग नलिएको स्पष्ट पार्दै सम्पूर्ण हिन्दु श्रद्धालुहरूलाई यात्रामा सहभागी हुन आह्वान गरे।
नेपालमै पहिलोपटक आयोजना हुन लागेको ‘चुनरी यात्रा’ ले धार्मिक आस्था, सांस्कृतिक परम्परा र समुदायबीच एकताको सन्देश दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।