आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News राष्ट्रपति समक्ष अख्तियार प्रमुखले सुशासन र भ्रष्टाचार नियन्त्रणमा दृढ प्रतिबद्धता व्यक्त

राष्ट्रपति समक्ष अख्तियार प्रमुखले सुशासन र भ्रष्टाचार नियन्त्रणमा दृढ प्रतिबद्धता व्यक्त

110

काठमाडौं, ५ असोज  — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोग पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८१र८२ को ३५औं वार्षिक प्रतिवेदन बुझाउने क्रममा राईले आयोगले पाएको संवैधानिक जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिवद्धता दोहोर्‍याएका हुन्।

प्रतिवेदन बुझाउने क्रममा राईले भने, “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न र राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिबद्ध छ।”

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकायहरू, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय तथा आम नागरिकबाट पाएको सहयोगप्रति आभार प्रकट गरे।

शितल निवासमा भएको कार्यक्रममा राष्ट्रपति पौडेलले पनि आयोगले आफ्नो संवैधानिक दायित्वअनुसार मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले भने, “लोकतन्त्रको जग जवाफदेहितामूलक शासन हो। आयोगले कुनै दबाब वा प्रभावबिना स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजनलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।”

राष्ट्रपतिले आयोगलाई शासनमा जवाफदेहिता अभिवृद्धि गर्दै आम नागरिकको अपेक्षा अनुसार काम गर्न सुझावसमेत दिएका छन्।