असोज ४, वीरगंज : वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरी नगर पुनःनिर्माणलाई शीर्ष प्राथमिकतामा राख्ने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष अधिवेशन (नगर सभा) ले गत भदौ २४ गतेको आन्दोलन पश्चात ध्वस्त बनेको महानगरको संरचना पुनःनिर्माण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) नेतृत्वको आन्दोलनका क्रममा महानगर कार्यालय भवनसहित सम्पूर्ण संरचना खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा गम्भीर समस्या आएको थियो। सोही पृष्ठभूमिमा नगरसभाले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको पूर्व बजेट संशोधन गरी करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि छुट्याउने निर्णय गरेको हो। संशोधित बजेटअन्तर्गत प्रशासनिक भवन निर्माण, सवारी साधन तथा मेसिनरी उपकरण खरिद, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर जस्ता आवश्यक सामग्रीको व्यवस्था, गाडी भाडा, बिजुलीबत्ती र कार्यालय मर्मतलाई प्राथमिकतामा राखिने भएको छ।
विशेष अधिवेशनमा बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्दै महानगर प्रमुख राजेशमान सिंहले नगरको सेवा प्रवाह पुनःस्थापना गर्न बजेट पुनःसंयोजन अपरिहार्य रहेको बताए। यस्तै, अधिवेशनले आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागी शहादत प्राप्त गरेका वीरगंज–१२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सर्वसम्मत रूपमा पारित गरेको छ। नगरसभाको यो निर्णयले एकातर्फ शहिद परिवारलाई सम्मान गरेको छ भने अर्कोतर्फ पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै वीरगंजलाई चाँडै सेवा–सुगम अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको छ।