काठमाडौं, ३१ भदौ — गृहमन्त्री ओम प्रकाश अर्यालले जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीको असर परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मंगलबार निरीक्षण गर्दै ट्राफिक प्रहरीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा खटिन निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा गृहमन्त्रीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की, ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीसहितका अधिकारीहरूले कार्यालयको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
गृहमन्त्री अर्यालले हालकै भवनबाट सेवा सञ्चालन गर्न निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले शान्ति सुरक्षा, सुशासन र निष्पक्ष निर्वाचनप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै, “अब छिट्टै सबै लयमा फर्किनेछ,” भन्ने विश्वास व्यक्त गरे।
उनले वर्तमान सरकारले कसैमाथि पक्षपात नगरी निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने दृढता समेत व्यक्त गरे।