काठमाडौं, ३१ भदौ — जेन(जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण तथा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको खर्च जुटाउन अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ।
कार्यदलमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री छन्।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार हालको बजेटमै रहेका केही योजना र कार्यक्रम कटौती गरेर स्रोत व्यवस्थापन गर्न सकिन्छ कि भन्ने उद्देश्यले आन्तरिक अध्ययनका लागि कार्यदल बनाइएको हो।
“चुनाव र पुनर्निर्माणका लागि अतिरिक्त बजेट आवश्यक भएकोले अहिलेको बजेटभित्रै रहेर कसरी व्यवस्था गर्न सकिन्छ भन्ने सम्भावना कार्यदलले अध्ययन गर्नेछ,” प्रवक्ता पाण्डेयले बताए, “आवश्यक परे केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुन सक्छ, जसको प्राथमिकता निर्धारण गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।”
सोमबारमात्र कार्यभार सम्हालेका नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पनि चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबका कारण परेका टुक्रे योजना तथा पूर्वतयारी नसकिएका कार्यक्रम कटौती गरिने स्पष्ट पारेका थिए।
उनका अनुसार सरकारले पूरक बजेट ल्याउने छैन। बरु अहिलेको बजेटमै रहेका गैरआवश्यक कार्यक्रम कटौती गरी करिब एक खर्ब रुपैयाँ बराबरको स्रोत जुटाएर निर्वाचन र पुनर्निर्माणमा परिचालन गरिनेछ।