काठमाडौं २६ भदौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन जी पुस्ता प्रदर्शनको क्रममा देशको सम्पत्ति जलाउनेहरूमाथि कठोर कानुनी कारबाही गर्नुपर्ने बताएका छन्। बिहीबार एक भिडियो सन्देशमार्फत उनले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
महामन्त्री थापाले भने, “नयाँ सरकारले शक्तिशाली कानुन बनाएर छानबिन गर्नुपर्छ। ममाथि पनि छानबिन होस्। अकुत सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ। तर, भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाहीमा तान्नैपर्छ।”
उनले वर्तमान संविधानलाई नागरिकको ठूलो उपलब्धि भन्दै यसको मर्मलाई नमार्न जेन जी पुस्तालाई आग्रह गरे। आवश्यक परे सुधार र परिवर्तन गर्न सकिने तर संविधानको आत्मालाई सुरक्षित राख्नुपर्ने उनको भनाइ छ।
थापाले कांग्रेसलाई जनताले मन पराउने पार्टी बनाउन आफूहरू कटिबद्ध रहेको उल्लेख गर्दै भने, “हामी कांग्रेसलाई बदल्न लाग्छौं। जेनजीले मन पराउने पार्टी बनाउँछौं। तर संविधानको मर्म नमारिकन मात्र परिवर्तन गर्नुपर्छ।”
त्यसैगरी उनले सबैलाई एउटै काँधमा राखेर दोषी बनाउने प्रवृत्तिको विरोध गर्दै भने, “दूधको दूध, पानीको पानी हुनैपर्छ। भोलि देश चलाउनुपर्ने भएकाले सबैलाई एउटै काँधमा नराखौँ।”
महामन्त्री थापाले ब्याकबेन्चमा बसेर सरकारलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि स्पष्ट पारे।