आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव

प्रधानसेनापतिसँग जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने प्रस्ताव

133

२५ भदौ, काठमाडौं — राजधानीस्थित जंगीअड्डामा बुधबार भएको जेनजी प्रतिनिधिहरू र नेपाली सेनाबीचको महत्वपूर्ण बैठकमा पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन गर्ने प्रस्ताव अघि सारिएको छ।

बैठकमा उपस्थित स्रोतका अनुसार जेनजी प्रतिनिधिहरूले कार्कीको नाम सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाएका छन्। एक उच्च सैनिक अधिकृतले भने, “उहाँहरूले सम्माननीयज्यूको नाम अगाडि सारेका छन्, तर अझै अर्को समूहसँग पनि छलफल भइरहेको छ।” सेनाले कार्कीसँग प्रत्यक्ष संवाद गर्ने तयारीसमेत गरेको जनाइएको छ।

यसअघि, जेनजी युवाहरूले सामाजिक सञ्जाल डिस्कर्डमा नेतृत्व चयनबारे दिनभर छलफल गरेका थिए। उक्त छलफलमा कार्कीको पक्षमा बलियो समर्थन देखिएको स्रोतले जनाएको छ। तर, धेरै युवाहरूले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम पनि अघि सारेका थिए। तथापि, शाहसँग प्रत्यक्ष सम्पर्क हुन नसकेका कारण उनको प्रस्ताव अघि बढ्न सकेन।

मंगलबार बेलुकी बालेन शाहले सामाजिक सञ्जालमा स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका लागि तयार रहन आग्रह गरेका थिए। त्यसअनुसार बुधबार बिहान जेनजी प्रतिनिधिहरू जंगीअड्डा पुगेका थिए। तर, छलफलका लागि १५ जनाभन्दा बढी प्रतिनिधि उपस्थित भएपछि सेना प्रमुख सिग्देलले उनीहरूलाई “पहिले आपसमा सहमति गरेर संयोजक तोकेर आउन” सुझाव दिएका थिए।

सोही क्रममा जंगीअड्डाकै एउटा कोठामा जेनजी प्रतिनिधिहरूबीच आन्तरिक बैठक बसेको थियो। बैठकमा केही सदस्यहरूले गणतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउँदै वैकल्पिक प्रस्तावसमेत राखेका थिए। यस विषयमा मतभेद बढेपछि रक्षा बमसमेतको समूह बैठकबाट बाहिरिएको थियो।

अन्ततः, लामो छलफलपछि शुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने सहमति जेनजी प्रतिनिधिहरूबीच बनेको स्रोतले पुष्टि गरेको छ। अब यो प्रस्ताव सेनाले थप छलफलका लागि औपचारिक रूपमा अघि बढाउने बताइएको छ।