वीरगन्ज, २५ भदौ पर्सा ।
वीरगन्ज कारागारमा आज बिहान कैदीहरूले पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि अवस्था केही समय तनावग्रस्त बनेको छ। घटनापछि नेपाली सेनासहितको सुरक्षाकर्मी परिचालन गरी अवस्था नियन्त्रणमा लिइएको प्रशासनले जनाएको छ।
सुरक्षाकर्मीहरूले कैदीहरूलाई नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस प्रहार गर्नुपरेको छ। कैदीहरूले कारागारको पर्खाल भत्काउने प्रयास गर्दा सुरक्षाकर्मीहरूसँग झडप समेत भएको थियो।
यस क्रममा चार जना कैदी गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको भए पनि उनीहरूको नाम र परिचय हालसम्म सार्वजनिक गरिएको छैन।
घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कारागार परिसरलाई पूर्ण सुरक्षा घेरामा राखेको छ। पर्सा प्रशासनका अनुसार अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको छ र थप अप्रिय घटना नघट्ने गरी उच्च सतर्कता अपनाइएको छ।