काठमाडौं, भाद्र २४ –नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ। सेनाले विषम परिस्थितिको फाइदा उठाउँदै भइरहेका लुटपाट, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडजस्ता अराजक गतिविधि तत्काल नरोकिए आज (भाद्र २४ गते) राति १० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा निकाय तैनाथ हुने जनाएको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै यदि यस्ता गतिविधि रोकिएनन् भने आज (भाद्र २४ गते) राति १० बजेबाट सेनासहित सम्पूर्ण सुरक्षा निकाय तैनाथ हुने संकेत दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पु¥याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न/नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ।”
सेनाले यस्ता अराजक गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्न दृढ रहेको स्पष्ट पारेको छ। सेनाले भनेको छ, “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते राति १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं।”
सेनाले स्थितिलाई नियन्त्रणमा लिने क्रममा सम्पूर्ण राष्ट्रवासीलाई सहयोग गर्न हार्दिक अपिल पनि गरेको छ। साथै, राति १० बजेपछिको अवस्थाको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
