काठमाडौं २४ भदौ: सामाजिक सञ्जाल बन्दविरुद्ध भड्किएको आन्दोलनमा २० जनाको मृत्यु भएपछि काठमाडौंस्थित अमेरिकासहित नौ देशका दूतावासहरूले संयुक्त वक्तव्य जारी गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन र शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका छन्।
अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका दूतावासहरूले जारी गरेको विज्ञप्तिमा परिस्थितिलाई थप जटिल हुन नदिई मौलिक अधिकार, शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरिएको छ।
विज्ञप्तिमा काठमाडौंसहित देशका अन्य स्थानमा देखिएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूको परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघसहित मानवअधिकारवादी संस्थाहरूले जेन–जीको हत्या र आन्दोलनमा घाइते भएकाहरूको घटनाले आफूहरू स्तब्ध भएको जनाएका छन्।