काठमाडौं, १८ भदौ । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतका साथ पारित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट आएको संशोधनलाई स्वीकृत गर्दै विधेयक पारित गरेको हो।
बैठकमा गृहमन्त्री रमेश लेखकले “नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि भएको छलफलमा सांसदहरूले विधेयक पारित भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्दै आएका समस्याहरू अन्त्य हुने विश्वास व्यक्त गरे।
विधेयकले आमाको नामबाट पनि नागरिकता लिन सकिने व्यवस्था गरेको छ। यसले बाबुको असहयोगका कारण वा पहिचान नभएकाले नागरिकता पाउन नसकेका हजारौँ नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधेयकलाई महिलाको सम्मानसँग जोड्दै यसको समर्थन गरे। उनले भने, “यो विधेयकले नागरिकले भोग्दै आएका कानूनी अप्ठ्याराहरू अन्त्य गर्नेछ। आमाको नामबाट नागरिकता दिने व्यवस्था विश्वव्यापी मान्यता हो, र नेपाल सरकारले यसलाई अंगालेको छ।”
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि विधेयकलाई महिलाको सम्मानसँग जोड्दै समर्थन जनाए। उनले भने, “संविधानमा व्यवस्था भएपनि व्यवहारमा लागू नभएका कारण नागरिकले पाएको दुःखको समाधान यस विधेयकले गरेको छ। नाबालकलाई परिचयपत्र दिने प्रावधान पनि अत्यन्त महत्वपूर्ण छ।”
सरकारले नागरिकता ऐन संशोधनमार्फत आमाको नामबाट नागरिकता पाउने कानुनी व्यवस्था सुनिश्चित गर्न विधेयक ल्याएको हो। अब विधेयक पारित भइसकेपछि बाबुको असहयोग भएका वा पहिचान नभएका सन्तानले पनि आमाको नामबाट सहजै नागरिकता पाउनेछन्।