वीरगञ्ज, भदौ १४ —गृहमन्त्री रमेश लेखक शनिबार वीरगञ्जको हैजाप्रभावित क्षेत्रको अवलोकन गर्न सुरक्षा निकायका चिकित्सकसहितको टोलीसहित जाने भएका छन्। हैजाबाट प्रभावित बिरामीको अवस्था बुझ्न, नियन्त्रणका लागि आवश्यक तयारी र समन्वयका विषयमा छलफल गर्न गृहमन्त्रीको यो भ्रमण तय भएको हो।
गृहमन्त्रीको सचिवालयका अनुसार लेखक आइतबार बिहान नारायणी अस्पतालमा उपचाररत बिरामी, अस्पताल प्रशासन, पर्सा जिल्लाको जिल्ला सुरक्षा समिति र अन्य सरोकारवालाहरूसँग समेत भेटघाट गर्ने कार्यक्रम छ।पछिल्लो समय वीरगञ्जमा हैजाको संक्रमण तीव्र रुपमा फैलिँदै आएको छ। तर, अझैसम्म संक्रमणको ठ्याक्कै स्रोत पत्ता लाग्न सकेको छैन।
गृहमन्त्रीको सचिवालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको चिकित्सक टोलीलाई हैजा प्रभावित क्षेत्रमा बिरामीको उपचार तथा आवश्यक सहजीकरणका लागि परिचालन गरिएको जनाएको छ।
गत भदौ ८ गते गृहमन्त्री लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले वीरगञ्जमा फैलिएको हैजा नियन्त्रण र प्रभावितको उपचार व्यवस्थाका लागि चिकित्सक टोली पठाउने निर्णय गरेको थियो। त्यस क्रममा गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा सहकार्य गर्न निर्देशन दिएका थिए।