आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा हैजाको संक्रमण तीव्र, ११४ जनामा पुष्टि, शुक्रवारसम्म बिद्यालय बन्द

वीरगञ्जमा हैजाको संक्रमण तीव्र, ११४ जनामा पुष्टि, शुक्रवारसम्म बिद्यालय बन्द

149

वीरगंज, १० भदौ— वीरगञ्जमा हैजाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। पर्सा स्वास्थ्य कार्यालयका अनुसार हालसम्म ११४ जनामा हैजा पुष्टि भइसकेको छ। पछिल्लो परीक्षण प्रतिवेदनअनुसार मंगलबार साँझ ६ बजेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा ९३ जना नयाँ झाडापखालाका बिरामी भर्ना भएका छन्।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म हैजा र झाडापखालाका १९९ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्। वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा धेरै १०७ जना बिरामी नारायणी अस्पतालमा छन्।

अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालासम्बन्धी समस्या लिएर भर्ना भएका बिरामीको संख्या ४२२ पुगेको छ। जसमध्ये २२३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १९९ जना अझै उपचाररत छन्।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार हैजा पुष्टि भएका बिरामीमध्ये सबैभन्दा धेरै नारायणी अस्पतालमा ४३ जना छन्। महानगरले हैजा संक्रमण थप समुदायस्तरमा फैलिन नदिन वीरगंज महानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण बिद्यालयलाई यही भदौ १३ गतेसम्मको लागि पठनपाठन स्थगित भएको सूचना प्रकाशन गरी जानकारी गराएको छ

स्वास्थ्यकर्मीहरूले हैजाको संक्रमण अझै फैलिन सक्ने चेतावनी दिएका छन्। महानगरपालिकाले सुरक्षित पानी प्रयोग गर्न, सरसफाइमा ध्यान दिन, र आवश्यक परे स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।