आर. आर. एस. मिडिया प्रा. लि. द्वारा सञ्चालित यो ‘उत्सव खबर’को आधिकारिक वेबसाइट हो।

Home Breaking News वीरगञ्जमा हैजा र झाडापखाला नियन्त्रणका लागि नालामुनि जडान गरिएका डीप बोरिङ पाइप हटाउन सुरु

वीरगञ्जमा हैजा र झाडापखाला नियन्त्रणका लागि नालामुनि जडान गरिएका डीप बोरिङ पाइप हटाउन सुरु

136

१० भदौ, वीरगञ्ज । वीरगञ्जमा हाल हैजा र झाडापखालाको सङ्क्रमण तीव्र रूपमा फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाले नालामुनि जडान गरिएका डीप बोरिङका पाइप हटाउने कार्यलाई तीव्रता दिएको छ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरका नगर प्रहरी र कर्मचारीहरू खटिएर नालाभित्र रहेका पाइप निकाल्ने काम सुरु गरिएको हो। खानेपानीको समस्या समाधान गर्ने उद्देश्यले महानगरका विभिन्न वडामा डीप बोरिङ गरी पाइप नालामुनि लगेर प्रयोग गर्दै आएको थियो। तर, स्थानीय बासिन्दाले आफैंले अनियन्त्रित रूपमा पाइप जडान गरेर नालामुनि प्रयोग गर्न थालेपछि हैजा र झाडापखालाको सङ्क्रमण फैलिएको शंका गरिएको छ।

वीरगंज महानगरका अनुसार, दूषित पानीको प्रयोग रोक्न र संक्रमण नियन्त्रण गर्न तत्काल नालामुनि रहेका सबै पाइप हटाउने अभियान सुरु गरिएको हो। यससँगै, स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न पनि महानगरले विशेष पहल थालेको जनाएको छ।

स्वास्थ्य विज्ञहरु स्थानीय बासिन्दालाई स्वच्छ पानी प्रयोग गर्न र अस्वच्छ खानेपानी स्रोतहरूप्रति सचेत रहन आग्रह गरेको छ। अहिलेसम्म वीरगंजमा हैजाका संक्रमितको संख्या ९३ पुगेको छ |